मेरो नाम सुस्मा चौधरी हो । मेरो पहिल्यै देखि ब्यवसाय गरेर खाने ठूलो सोच थियो । यति धेरै काम मध्ये टेलरिङ् नै किन होला ? मेरो मनमा सधैं यहि प्रश्न आउँथ्यो । तर किन किन मलाई यहि मन पर्यो, मलाई नै थाहा भएन किन यो मन पर्यो । टेलरिङ् नै गर्छु भन्ने सोचेको त थिएँ, त कहाँ सिक्ने ? कसरी शुरु गर्ने ? केही थाहा थिएन ।
तालिम एउटै सिकाई फरक
सिक्न त धेरै ठाउँमा सिकेँ तर आँखा देखाउने काम कसैले गरिदिएन । लेभल वान गर्दाखेरी धेरै ठाउँमा पैसा फालेँ । तर कसैले राम्रोसँग सिकाएन । पैसा मात्रै गयो । कसरी गर्ने होला भन्ने सोच्दा सोच्दै जिनीयस मल्टि टेक्निकल ईन्ष्टिच्युटले लेवल टु को तालिम दिन्छ रे भन्ने थाहा पाएँ, त्यहाँ गएँ । फर्म भरें नाम निस्क्यो ।
तीन महिना तालिम गरेँ । त्यसपछि म त पर्फेक्ट भईहालेँ । हामीलाई सिकाउने सर म्याम एकदमै राम्रा । बुझाई बुझाई सिकाईदिने । उहाँहरुले छलकपट केही गर्नु भएन । त्यहाँ सिकेपछि मात्रै मैले पसल गर्न सक्ने हिम्मत बटुलें । पहिला पनि सिकेकै हो तर घरै बस्थे अहिले त पसल खोलेर बस्न सक्ने भएँ ।
यस्ता संस्थाहरुले दिने तालिममा सिक्नु र घर गाउँमा सिक्नुका विच थुपै्र फरक हुँदो रैछ । पहिला सिकेको त पैसै मात्रै फालेको जस्तो लाग्यो । सिक्ने त तरिका हुँदा रैछ । पहिला सिकेको त सिकेको नसिकेकै भयो । सिकाउने कुरा पनि ढंग पुर्याएर र ढंग नपुर्याएर सिकाउने हुँदो रैछ । अव चाँही सबै कुरा गर्न सक्छुु ।
पसल खोल्ने सोच कसरी आयो ?
म पनि आफ्नो जातमा गईन । आफ्नो जातमा नगएपछि घरमा फरक नै हुँदो रैछ । त्यसमाथि घरपट्टी पनि आफ्नो जातको ल्याएको भए त अलि अलि दाईजो आउँथ्यो होला भन्ने । म क्षेत्रीकी छोरी चौधरीसँग विहे गरें । उहाँहरुको त थुपै्र दाईजो ल्याउनु पर्ने हुँदो रैछ ।
मैले केही पनि नलगेको । मागेर विहे गरे पो दाईजो हुने हो । बुढोले मन पराउनु भो । दाईजो पनि के मतलव भयो र भन्ने भयो । तर, बुढो र मेरो मात्रै कुराले भएन । घरमा पनि मायाँ नगर्ने । यस्तोलाई ल्याको न कमाई छ, न दाईजो नै आयो भन्ने सुनिराख्दा दिक्क लाग्थ्यो । घरमा अटाईएन । म अन्त काम गर्न पनि गएँ । सधंै केही न केही गर्न पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो । मैले पनि यो घर परिवारको लागि केही गरेर देखाउन पर्छ भन्ने लाग्थ्यो ।
बदलिएको परिवार !
आज भोली त सासु ससुरा आउनु हुन्छ । बस्नुहुन्छ । अली अली खर्च पनि दिएर पठाउँछु । खुसी हुनुहुन्छ । सीपले जीवन नै बदलियो । मेरो बुहारीले प्रगती गरिछ भन्नुहुन्छ । गाउँमा पनि भन्नुहुन्छ रे । अस्ति भर्खरै पनि आउनु भो । हप्ता दिन बसेर जानु भो ।
आफूसँग सीप भएपछि परिवारले हेर्ने समाजले हेर्ने नजर नै फरक हुँदो रैछ । मैले यो पसल खोल्दा झण्डै ३ लाख रुपैंया खर्च गरेँ । अलिकति म सँगै थियो । समूहमा थिएँ । त्यहाँबाट सापटी लिएँ । श्रीमान् सशस्त्रको जागिरे । त्यहाँ पनि तालिम दिने कुरा भयो । तीन महिना तालिम दिएँ । त्यो पैसा पनि भयो । यहि पैसाले पसल खोलेँ ।
काम गर्न २ जना राखेको छु । पीसको हिसावले पैसा दिन्छु । डिजाईनवाला र सादा भयो भने फरक हुन्छ । ६–७ हजार महिनामा कमाउनुु हुन्छ उहाँहरुले पनि । मेरो पनि महिनामा ८–१० हजार कमाई हुन थालेको छ । गलामा सिक्रि लगाउन सक्ने भएँ । बैंकमा खाता पनि खोलेको छु ।
योजना...
पसललाई ठूलो बनाउने र आफ्नै कमाईले जग्गा किनेर घर बनाउने सोच छ । आफू बस्नलाई । यहि तरिकाले काम गरेँ भने एक बर्षमा जग्गा किन्छु । अर्को बर्ष घर बनाउँछु ।
सीप नै हो रैछ ठूलो कुरो । विदेश जानु भन्दा यहिं मेहनेत गर्ने हो भने धेरै हुन्छ । केही न केही सिकौं । नेपालमै गरौँ । मेरो ममी पनि बाहिर हुनुहुन्छ । जाउँ भन्नु हुन्छ म त यहिं गर्ने भन्दिन्छु । विदेशको दुःख मान्छेहरुले देख्दैनन् । यहाँ नेपालीले देख्छन् । काम गर्दा चिन्नेले देख्छन् भनेर लाज मान्नु भएन, काम गरेपछि कमाई त यहिं हुन्छ ।
आफूले पाएको दुःखले होला मलाई हिजोआज मकहाँ सिक्न आउने दिदी बहिनीहरुलाई एकै चोटि आँखा देख्ने गराउँछु भन्ने सोच्छु । उनीहरुलाई पर्फेक्ट बनाउने मेरो ईच्छा छ । त्यहि अनुसार काम गर्दै छु । मैले धेरै ठाउँमा सिकेर पनि मैले केही गर्न सकिन । बरु दुई चार पैसा कमै लिने तर राम्रो सीप दिएर आँखा खोल्दिने गर्छु । राम्रोसँग सिकाईदिने ईच्छा छ मेरो ।
सीप भएपछि त गरी खाई हाल्छ नी मान्छेले ।
–प्रो. दिदी बहिनी टेलर्स, पोखरा ४ गणेश टोल